Friday, March 29, 2024

अपांगता भएकालाई संक्रमण हुँदा झन् सास्ती

वीरेन्द्रनगर — वीरेन्द्रनगरका अपांगता भएका २९ वर्षीय एक व्यक्तिलाई गत भदौ ९ गते कोरोना संक्रमण पुष्टि भयो । नास्ता पसल चलाइरहेका उनलाई पसलमा आउने ग्राहकबाटै संक्रमण भएको अनुमान छ । उनी संक्रमित भएपछि परिवारका अन्य तीन सदस्यमा पनि कोरोना देखियो ।

आइसोलेसनमा बस्न खासै समस्या भएन । तर संक्रमित भएको थाहा भएपछि उनको पसलमा ग्राहक नै आउन छाडे । ‘अरू काम गरौं भने पनि राम्रोसँग हिँडडुल नै गर्न सक्दिनँ, पसल नचल्दा खर्च चलाउन मुस्किल भयो,’ उनले भने ।

वीरेन्द्रनगरकै ३० वर्षीया दृष्टिविहीन महिलाले पहिलेदेखि नै अरूले दिएको एक मुठी चामलले आफ्नो छाक टार्दै आएकी थिइन् । कोरोना महामारीमा सहयोग गर्ने हातहरू पछि हटेपछि उनी कति दिन भोकभोकै पनि बस्नुपर्‍यो । श्रीमान् र घरपरिवारबाट समेत एक्लिएर बसेकी उनी न आफू काम गर्न सक्छिन् न त कसैले उनलाई सहयोग गरेको छ । ‘आफन्तबाट त सहयोग केही पाएकी छैन,’ उनले भनिन्, ‘पहिला सहयोग गर्नेहरूले पनि अहिले वास्ता गर्न छाडे ।’ पहुँच भएका अपांगता व्यक्तिले केही राहत पाए पनि आफूले नपाएको उनको गुनासो छ ।

कर्णालीमा अपांगता भएका अधिकांश व्यक्तिको यो साझा समस्या हो । कोरोना महामारीपछि भएको लकडाउनका कारण रोजीरोटी गुमाएका परिवार धेरै छन् । उनीहरूले रोजगारी मात्रै गुमाएका छैनन्, सम्बन्धित निकायबाट सहयोग पनि पाएका छैनन् । कर्णालीमा करिब ५१ हजारभन्दा बढी विभिन्न खाले अपांगता भएका व्यक्तिहरू रहेको अनुमानित तथ्यांक अपांग महासंघ कर्णाली प्रदेशसँग छ । यीमध्ये आधाभन्दा बढी व्यक्तिले कोरोनाका कारण रोजगारी गुमाएको आकलन छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका कृष्णबहादुर शाही ह्वीलचियर प्रयोगकर्ता हुन् । ढाड भाँचिएको समस्या रहेका उनलाई पिसाब चुहिने समस्यासमेत छ । जसका लागि उनले प्रयोग गर्ने ‘कन्डम क्यापेटर’ नपाउँदा अर्को संक्रमण हुने जोखिम बढेको छ । ‘यो दुईपटक भन्दा बढी प्रयोग गर्न मिल्दैन,’ उनले भने, ‘अहिले उमाल्दै प्रयोग गर्दै गरिरहेको छु, यसले झन् अरू रोग लाग्ने डर भइसक्यो ।’ उक्त सामग्री लिनका लागि काठमाडौं वा कोहलपुर जानुपर्ने हुन्छ । तर उनी अपांगता भएकै कारण त्यहाँसम्म पुग्न सकेका छैनन् ।

वीरेन्द्रनगरका २९ वर्षीय अपांगता भएका व्यक्तिले पनि नक्कली खुट्टा परिवर्तन गर्नुपर्नेछ । तर गत चैतदेखि उनी खुट्टा परिवर्तन गर्न नसकेकै कारण घरभित्रै बसिरहेका छन् । ‘पहिलाको खुट्टाले हिँड्नै मिलेन,’ उनले भने, ‘हिँड्नेबित्तिकै लड्ने समस्या भएपछि अहिले प्रयोग गरेको छैन ।’ राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका जनवकालत संयोजक जितेन्द्र ढकालका अनुसार कर्णालीका करिब ५ सय बढीले सहायक सामग्री नपाएको भनी गुनासो गरेका छन् । विशेषगरी शारीरिक अपांगता भएकाहरूले सहायक सामग्री माग गरेको उनले बताए । ‘अपांगता भएका व्यक्तिले निरन्तर रूपमा सेवन गरिरहनुपर्ने औषधि हेमोफिलिक फ्याक्टर, क्याथेटर, डाइपर ट्युबलगायत सामग्री नपाएर समस्या भागिरहेका छन्,’ उनले भने ।

कर्णालीमा अपांगता भएका कति व्यक्तिहरू कोरोना संक्रमित भए भन्ने यकिन तथ्यांक छैन । वीरेन्द्रनगरमा मात्रै ४ जना अपांगता भएका व्यक्तिहरू कोरोना संक्रमित भए । उनीहरूका अनुसार वीरेन्द्रनगरका आइसोलेसनमा अपांगमैत्री संरचना छैनन् । अपांग सशक्तीकरण केन्द्र (डेस्क) को सहयोगमा वीरेन्द्रनगरको कटकुवा अस्पतालको आइसोलेसनमा अपांगमैत्री सार्वजनिक शौचालय बनाइएको छ । अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माका अनुसार अन्य आइसोलेसनमा अपांगता भएका व्यक्तिलाई राख्नै समस्या छ ।

जनवकालत संयोजक ढकालले आइसोलेसनमा अपांगता भएका व्यक्तिका लागि र्‍याम, दोभाषे, सम्बन्धित निकायले निकाल्ने विभिन्न स्वास्थ्य सामग्रीहरूका डकुमेन्ट युनिकोडमा पनि हुनुपर्छ । तर कर्णालीका कुनै पनि आइसोलेसनमा यी व्यवस्था गरिएको छैन । ‘अहिले धेरै अपांगता भएकालाई कोरोनाका बारेमा जानकारी नै छैन,’ उनले भने, ‘मास्क, सेनिटाइजरलगायत अन्य सरसफाइका कुराबारे पनि उनीहरू अनभिज्ञ छन् ।’ महासंघले गरेको सर्भेअनुसार नेपालका करिब ७.५ प्रतिशत अपांगता भएका व्यक्तिलाई मनोसामाजिक परामर्श आवश्यकता पर्ने देखाएको छ ।

यसैबीच, महासंघले सरकारले बनाएको अपांगसम्बन्धी ऐन, नियम तथा कानुनको कार्यान्वयन फितलो भएको गुनासो गरेको छ । बुधबार वीरेन्द्रनगरमा भएको अन्तर्क्रियामा तीनै तहका सरकारले अपांगता भएका व्यक्तिको खोज तथा सम्मान गर्न बनाइएको कानुनको पनि कार्यान्वयन नभएको बताएको हो ।

प्रदेश अध्यक्ष शर्माले कर्णाली सरकारले विभिन्न कानुन बनाए पनि अपांगता भएका व्यक्तिलाई प्रत्यक्ष प्रभाव पर्ने कुनै पनि नीति नबनाएको जनाए । उनले प्रदेशका कतिपय क्षेत्रहरूका अपांगता व्यक्तिले पाउनुपर्ने परिचयपत्रसमेत नपाएको गुनासो गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार