Sunday, April 18, 2021

नर्सरी खेतीले बदलेको रामेछापको मेग्रे गाउँ, वर्षमा २ करोडको विरुवा बिक्री

काठमाडौं । ५ वर्ष अगाडि यो समय रामेछाप दोरम्बा गाउँपालिका साविक वडा न। १ डडुवा, मेग्रेका बासिन्दालाई धान र कोदो टिप्ने चटारो लाग्थ्यो । साथै कार्तिक, मंसिरमा अन्नबाली भित्र्याउने समयमा श्रमिक भ्याइ नभ्याई हुन्थ्यो । तर, ५ वर्ष यता भने धान तथा कोदो टिप्नेको चटारो कम भएको छ । हाल त्यहाँका बासिन्दाले परम्परागत कृषिसँगै व्यावसायिक कृषि गर्दै आएका छन् । विगतको दिनमा बाली भित्र्याउन व्यस्त हुने त्यहाँका कृषक अहिले भने नर्सरी उत्पादनमा व्यस्त छन् ।

अहिले परम्परागत कृषि उत्पादन गर्न सहज भएको छ भने अर्को तर्फ नर्सरी उत्पादनबाट मनग्य आम्दानी हुने त्यहाँका कृषकहरूले बताएका छन् । अहिले मेग्रे गाउँका सम्पूर्ण कृषकहरू विभिन्न फलफूलको विरुवा उत्पादन गरेसँगै आम्दानी राम्रो भई खर्च जुटाउन निकै सहज भएको उनीहरूको भनाइ छ ।

मेग्रे गाउँको परम्परागत उत्पादन फलफूल भनेको जुनार, सुन्तला थियो । पहिले उक्त गाउँमा जुनार तथा सुन्तला धेरै मात्रामा फलाए पनि लाभ लिन सकेका थिएन । त्यसबेला यातायातको सुविधा नभएका कारण त्यहाँ उत्पादन भएका अधिकांश फलफूल खेर जाने गर्दथ्यो । साथै, कम व्यक्तिले मात्रै जुस बनाएर बेच्ने गरेका थिए ।

तर, पछिल्लो समय फलफूल उत्पादन गरेरभन्दा पनि बढी विरुवाबाट लाभ लिन सक्ने भएपछि त्यहाँका अधिकांश कृषक नर्सरीमा बढी जोड दिएका छन् ।

साथै, त्यहाँका बासिन्दाले धान, मकै तथा कोदो पनि फलाउँदै आएका थिए । अहिले भने कम मात्रामा धान, मकै तथा कोदो उत्पादन गरी बाँकी जग्गा जमिनमा विभिन्न फलफुलका विरुवा उत्पादन गरिरहेका छन् ।

विगतको दिनमा परम्परागत खेतीले वर्षभरी खाना नपुग्ने जमिनमा अहिले लाखौं कमाई भइरहेको नर्सरी किसान तारा तामाङ (मोक्तान) बताउँछिन् । जमिन पनि धेरै आवश्यक नपर्ने र मौसम अनुसारको फलफूलको बिरुवा उत्पादन गरेर बिक्री गर्दा धेरै आम्दानी गर्न पाएको उनले बताइन् । उनका अनुसार नर्सरी उत्पादनबाटै ६ जना छोराछोरीलाई पढाउन तथा खर्च जुटाउन निकै सहज भएको उनको अनुभव छ ।

त्यसैगरी, उक्त नर्सरी व्यवसायको आम्दानीबाटै एक जना छोरी एमबीबीएस पढ्दै छिन् भने अन्य पनि उपत्यकामै पढाइरहेको उनले बताइन् । ‘परम्परागत कृषिलाई त्यागेर नर्सरी उत्पादन गर्न पाउँदा खर्च जुटाउन निकै सहज भएको छ’ उनले भनिन्, ‘अब हामी कृषक मात्रै होइन व्यवसायीक कृषक बन्न पाउँदा निकै गर्व महसुस हुन्छ ।’

उनले मौसम अनुसार किवी, जुनार, सुन्तला, कागती, मुन्तलालगायत अन्य फलफुलको विरुवा गरी वार्षिक १० हजार भन्दा बढी विरुवा बिक्री गर्दै आएकी छिन् । उक्त विरुवाबाट उनले वार्षिक गाउँमै बसेर १५, १६ लाख कमाएको उनले बताइन् ।

यसैगरी, विगतका दिनमा खर्च जुटाउनका लागि कृषिबाहेक अन्य काममा हट्नुपर्ने हुन्थ्यो । तर, अहिले त्यो बाध्यता हटेको त्यहाँका कृषक माया तामाङ बताउँछिन् । अहिले परम्परागत कृषिसँगै व्यवसायीक कृषि गरी आम्दानी गर्न पाउँदा परिवार चलाउन सहज भएको उनको भनाइ छ । ‘बिरुवा खेतीको लागि धेरै जमिन पनि आवश्यक नपर्ने र परम्परागत खेतीसँगै बिरुवामा समय दिई राम्रो आम्दानी भइरहेको छ,’ उनले भनिन् ।

मौसम अनुसार विरुवाको माग र बिक्री हुने भएकाले वार्षिक ६, ७ लाखको आम्दानी गर्न सकेको उनी बताउँछन् । साथै, छोराछोरीलाई पढाउन सहज भएको उनको बुझाइ छ ।
यस्तै, कान्छी तामाङको पनि अनुभव उस्तै छ । अहिले उनले परम्परागत खेतीमा धान, मकै तथा कोदासँगै नर्सरी खेती गरेर वार्षिक ५ लाखसम्म आम्दानी गर्न सकेको उनको भनाइ छ ।

किवीले गर्दा आम्दानी बढ्यो

त्यस्तै, उक्त गाउँमा विभिन्न फलफुलको विरुवा जस्तैः जुनार, सुन्तला, जापानी हलुवाबेद, कागती, किवी, सुन्तलालगायतका विरुवा उत्पादन गरी बिक्री गर्दै आएका छन् । तर, पछिल्लो समय किवीको माग बढेसँगै धेरै आम्दानी हुन थालेको उनीहरूको भनाइ छ ।

हाल त्यहाँका सम्पूर्ण कृषकसँग ५ हजारभन्दा बढी किवीको विरुवा रहेको उनीहरूले बताएका छन् । जसमा कलमी गरेको किवीको विरुवाको प्रति वटा विरुवा २५० रुपैयाँभन्दा बढी मूल्य पर्छ भने विरुवा किवीको मूल्य प्रति वटा ५० रुपैयाँभन्दा माथि रहेको छ ।

कृषकहरूले उत्पादन गरेको विरुवा हिउँदे र वर्षे गरी दुई मौसममा बिक्री गर्दै आएका छन् । जसमा बर्षाको समयमा जुनार, सुन्तला, सुन्तला, जापानिज हलुवाबेद, कागती, अम्बालगायत अन्य विरुवा बिक्री हुन्छ भने, हिउँदको समयमा बढीभन्दा बढी किवी बिक्री हुने गरेको अधिराज फलफुल नर्सरीका सदस्य सुन्दर मोक्तान बताउँछन् ।

उनका अनुसार पछिल्लो समय अन्य विरुवाभन्दा बढी किवीको माग आउन थालेपछि गाउँका सबै कृषकहरूले किवीको विरुवा बढी उत्पादन गरिरहेको बताए । साथै, जापानिज हलुवावेदको पनि माग बढी आएता पनि पूर्ति गर्न नसकेको उनको गुनासो छ ।

साथै, गत वर्ष मात्रै अधिराज नर्सरीबाट करिब ७५ हजार विभिन्न प्रकारको विरुवा बिक्री गरेको जनाएको छ ।

वार्षिक करिब २ करोडको विरुवा निर्यात
परम्परागत खेतीसँगै सुरु गरिएको विरुवा खेतीमा जुटेका साविक १ मेग्रे गाउँबाट वार्षिक करिब २ करोडभन्दा बढीको विरुवा निर्यात हुने गरेको कृषक मोक्तानको अनुमान छ । उनका अनुसार वार्षिक गाउँबाट उत्पादन भएका करिब ६ लाखभन्दा बढी विरुवा देशका विभिन्न स्थानमा पुगेको उनको भनाइ छ ।

उक्त व्यवसायबाट त्यहाँका कृषकले नर्सरीबाट भएको आम्दानीले जीवनस्तर उकास्न सहज भएको कृषकहरूले बताएका छन् । साथै, अधिकांश युवाहरू विदेशको साटो आफ्नै गाउँमा भएको जमिनमा लाखौं आम्दानी गर्दै आएकाले नेपालमा पनि विदेशको भन्दा राम्रो आम्दानी गर्न सक्ने एउटा उदाहरण बनेको उनको भनाइ छ ।

त्यहाँका कृषकले बागवानीका संस्था दर्ता गरी उत्पादन गरेका विभिन्न फलफूलको बोटविरुवा कुन स्थानीय तहमा कुन फलफुलको उपयुक्त उत्पादन हुन्छ त्यही आधारमा विरुवाहरू निर्यात गर्दै आएका छन् । जसमा पछिल्लो समय रुकुम, रोल्पा, अर्घाखाँची, बाग्लुङ, धादिङ, काभ्रेलगायत विभिन्न जिल्लाका स्थानीय तहमा किवी, हलुवेदलगायत अन्य धेरै प्रकारका बढीभन्दा बढी माग आएको उनको भनाइ छ । साथै, आगामी ५ वर्ष भित्रसम्ममा बिरुवासँगै किवी उत्पादन गरेर आत्मनिर्भर बन्ने योजना रहेको उनले बताए ।

कृषिमा अनुदान दिइरहेका छौं – वडा अध्यक्ष

साविक १ मेग्रेका अधिकांश कृषकबाट करिब ६ लाखभन्दा बढी विरुवा बिक्री गर्दै आएको तथ्याङ्क वडा कार्यालयमा प्राप्त भएको दोरम्बा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ढाल बहादुर राणा मगर बताउँछन् । उनका अनुसार वडा नं १ को पहिलो प्राथमिकता कृषि भएकाले गाउँपालिकाबाट विभिन्न अनुदान दिई सहयोग गर्दै आएको बताए ।

‘हाल साविक १ का कृषकले अत्याधिक मात्रामा विरुवा बिक्री गर्दै आएका छन्,’ उनले क्लिकमान्डूसँग भने, ‘अहिले गाउँपालिकाका कृषकले कृषि गरेर उत्पादन गर्छु भनेर आवेदन दिएको खण्डमा विरुवाहरू अनुदान दिईरहेका छौं ।’ साथै, कृषकलाई पानीको समस्यालाई मध्यनजर गर्दै ट्याङ्की लगायत अन्य सुविधा पनि दिई रहेको उनको भनाइ छ ।

हाल कृषकबाट उत्पादन भएका फलफुलको बजार व्यवस्थापनमा समस्या रहेको छ । तर, आगामी दिनमा कृषकबाट उत्पादन भएको फलफुलको बजार व्यवस्थापनको लागि कोल्ड स्टोर स्थापना गरी बजारसम्म पु¥याउने योजना रहेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

ताजा समाचार

मगरात सभ्यता

एमालेमा अध्यक्षलाई एकाधिकार

४० वर्षपछि खुला आकाश