पूर्व प्रमुख निर्वाचन आयुक्तहरू भन्छन्- कामचलाउ सरकारले मतदातालाई एकपक्षीय प्रभावमा पार्ने गरी बजेट नल्याओस्

347

काठमाडौँ — सरकारलाई आगामी कात्तिक र मंसिरका लागि घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचनका मतदातालाई  प्रभावित पार्ने गरी नीति तथा कार्यक्रम र बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले ध्यानाकर्षण गराएका छन् ।

पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले बिहीबार सामूहिक विज्ञप्ति जारी गर्दै बजेटलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धीको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति, कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन आयोगलाई पनि नीति तथा कार्यक्रम र बजेटका विषयमा सरकारको ध्यानाकर्षण गराउन सजग गराएका छन् । ‘यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी छन् ।

प्रकाशित : जेष्ठ १३, २०७८ १०:५१