Friday, April 19, 2024

प्रतिनिधिसभा विघटनका विषयमा संविधानविद्सँग परामर्श गर्दै सभामुख सापकोटा

काठमाडौँ — प्रतिनिधिसभा विघटनका विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । संघीय संसद् नयाँ बानेश्वरमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद् र न्यायिक क्षेत्रका विज्ञसँग परामर्श गर्ने भएका हुन् ।

दिउँसो १ बजे सुरु हुने परामर्श कार्यक्रममा कानुनसँग सम्बन्धित संस्थाका प्रतिनिधिलाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

‘संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञविशेषज्ञहरूसँग मूलतः प्रतिनिधिसभाको जेठ ८ गते गरिएको विघटनका विषयमा परामर्श गर्न लाग्नुभएको हो,’ न्यौपानेले भने ।

परामर्शमा वरिष्ठ अधिवक्ताहरू, संविधानविद्, कानुनविद्लाई बोलाइएको उनले जानकारी दिए । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट पनि परामर्श कार्यक्रममा सहभागिता रहने उनले बताए । कार्यक्रममा केही व्यक्ति प्रत्यक्ष र केही व्यक्तिहरू भर्चुअल माध्यमबाट सहभागी हुने बताइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको राजनीतिक दल, नागरिक समाज, संविधानविद्लगायतले विरोध गरिरहेका छन् । सभामुखले प्रतिनिधिसभा विघटनबारे यसअघि पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७८ १०:२६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार