Friday, March 29, 2024

चुनावका लागि सेनाले पनि थाल्यो आन्तरिक तयारी

माघ ९, २०७७

काठमाडौँ — आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको  निर्वाचनको सुरक्षालाई लिएर नेपाली सेनाले पनि आन्तरिक तयारी थालेको छ । 

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयअन्तर्गत केन्द्रीय निर्वाचन सुरक्षा टोली सरकारले गठन गरिसकेको छ । जसमा अन्य सुरक्षा निकायसँगै सेनाको पनि प्रतिनिधित्व छ ।

निर्वाचन सुरक्षालाई अन्य सुरक्षा निकायसँग र सेनाभित्र पनि छुट्टै आन्तरिक तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले निर्वाचनमा जाने घोषणा गरेसँगै उत्पन्न हुने सुरक्षाका चुनौतीलाई ख्याल गरेर स्थानीय प्रशासनसँग मिलेर सुरक्षाको जिम्मेवारी बहन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाका आठवटै पृतनालाई निर्देशन दिइसकेका छन् । थापाले केही सातायता भने संगठनको आफ्नो आन्तरिक भ्रमण र कार्यक्रममा मातहतलाई निर्वाचन सुरक्षाका लागि तयारी गर्न भनिरहेका छन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल सरकारले गरेको निर्वाचनको घोषणाअनुसार सेनाले गृहकार्य गरिरहेको बताउँछन् । ‘संविधानअनुसार सरकारले दिएको जिम्मेवारीलाई हामीले पालना गर्ने हो,’ उनले भने । सेनासँग यसअघिका निर्वाचन सुरक्षाको अनुभव पनि रहेकाले काम गर्नका लागि सहज हुने उनले बताए ।

चुनाव सन्देहमै तर सरकारी तयारी तीव्र

यसअघिका निर्वाचनमा सेनाले निर्वाचन स्थलको बाहिरी सुरक्षा, मतपेटिकाको सुरक्षा तथा ढुवानीको काम गरेको थियो । यस पटक सेनालाई निर्वाचन सुरक्षाको विषयमा भनिए पनि कुन–कुन काम गर्ने भनेर तोकिएर पत्र आएको छैन । सरकार र निर्वाचन आयोगको आवश्यकताअनुसार सेनालाई जिम्मेवारी दिने र त्यहीअनुसार सेनाले काम गर्नेछ ।

उच्च सैनिक स्रोतअनुसार आगामी वैशाखमै निर्वाचन हुने भयो भने सुरक्षाका चुनौती अघिल्ला चुनावभन्दा केही फरक हुने आकलन छ । नेत्रविक्रम चन्द समूह र दलहरूबीच हुन सक्ने झडप मुख्य चुनौती हुनेछन् । नेकपाका दुई समूहबीच झडप हुने आकलन पनि छ । स्थानीय प्रशासन ऐनअनुसार स्थानीय तहमा आवश्यक सुरक्षा चाहिए स्थानीय प्रशासनका प्रमुखले सेनालाई पनि परिचालन गर्न सक्छन् ।

सैनिक प्रवक्ता पौडेल सेनाको अनुभव र तयारीको कारण आवश्यकताअनुसार काम गर्न सक्षम रहेको दाबी गर्छन् । ‘अदालतबाट कुनै पनि निर्णय हुन सक्छ । सेनाको गतिविधिले कुनै पनि निर्णयलाई प्रभावित नपारोस भन्ने छ,’ सैनिक स्रोतले भन्यो ।

प्रकाशित : माघ ९, २०७७ १०:०३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार