Thursday, March 28, 2024

ओलीको कदम संविधानविपरीत, राष्ट्रपतिले नरोके सर्वोच्च जान्छौं : खाँण

पुस ५, २०७७

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव राष्ट्रपतिले नरोके सर्वोच्च अदालत जाने बताएका छन् । 

बालकृष्ण खाँण

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा पुगेको मन्त्रीहरूलाई जानकारी गराएका थिए । प्रतिनिधिसभा विघटनको प्रस्ताव लिएर ओली राष्ट्रपतिकहाँ गएका छन् । उक्त प्रस्तावको चौतर्फी विरोध भइरहेको छ ।

सोही विषयमा प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिसभामा प्रमुख सचेतक खाँणले भने, ‘प्रधानमन्त्रीको कदम असंवैधानिक भनेका छौं । असंवैधानिक कदमलाई सच्याउन राष्ट्रपति र सरोकारवाला निकाय गम्भीर बन्नुपर्छ । सरकारले विधिको शासन तोडमोड गर्‍यो, संविधानको प्रतिकूलतामा गर्‍यो भने सर्वोच्च अदालतको विकल्पमा जान्छौं ।’

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा छाप लगाउने भूमिकाबाट माथि उठ्नुपर्ने खाँणको आग्रह छ । ‘राष्ट्रपति संविधानको पालक र रक्षक हो । प्रधानमन्त्री ओलीका असंवैधानिक सिफारिस फर्काउने, रोक्ने भन्दापनि छाप लगाएर उहाँले आफूलाई ओलीको पक्षमा उभ्याउनुभएको छ । सिंगो मुलुकको राष्ट्रपति भन्दा पनि ओलीको सहयोगीको भूमिका निभाउनुभएको छ । राष्ट्रपतिलाई आग्रह छ संसद विघटनको प्रस्ताव स्वीकृत नगर्नुस्, फर्काउनुस् ।’

प्रधानमन्त्रीबाट ओलीले राजीनामा नगरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको खाँणको भनाइ छ । ‘प्रधानमन्त्रीले संसद् भंग गर्ने प्रस्ताव असंवैधानिक छ । अहिलेको संविधानले प्रतिनिधिसभाबाट नयाँ प्रधानमन्त्रीको निर्वाचन नै गर्न सकिएन भने नयाँ चुनाव गराउने व्यवस्था गरेको छ । अहिले प्रधानमन्त्री ओलीसँग आफ्नो पार्टीको विश्वास पनि रहेन, सदनको पनि विश्वास रहेन । यस्तो अवस्थामा उहाँले प्रतिनिधिसभा भंग गरेर हुने होइन,’ उनले थपे, ‘चुनाव गराउने संविधानले अधिकार दिएको छैन । प्रतिनिधिसभालाई नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गर्नुपर्ने थियो । ओलीले राजीनामा दिएर उहाँकै पार्टीको अर्को मान्छे प्रधानमन्त्री हुन्थ्यो ।’

प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै ओलीले संविधानविपरीत काम गर्दै गएको र अहिलेको अवस्था चरम सीमामा पुगेको खाँणको भनाइ छ ।

प्रकाशित : पुस ५, २०७७ ११:५३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार