Thursday, March 28, 2024

राजकुमार चेपाङको परिवारलाई बल्ल राहत

दोषी भनिएका सैनिकलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढे पनि निकुञ्जले पीडित परिवारलाई १ लाख रुपैयाँ मात्रै दिएको थियो । बिहीबार सहमतिअनुसारको बाँकी ६ लाख रुपैयाँ उपलब्ध गराइएको हो ।

पुस ४, २०७७

चितवन — चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएका बेला कुटपिटमा परेर मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई निकुञ्जले बिहीबार ६ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । गएको साउन १ मा राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका २४ वर्षीय राजकुमारसहित ७ जना स्थानीय निकुञ्ज छिरेका थिए ।

लोथर मध्यवर्ती उपभोक्ता समितिले दिएको राहत रकम बुझ्दै सेनाको कुटाइबाट मृत्यु भएको भनिएका चितवन पिप्लेका राजकुमार चेपाङकी श्रीमती ।

श्रीमती ।

निहुरो, अमिलो र घोंगी टिप्न राप्ती खोला तरेर निकुञ्जको निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई त्यहाँ सुरक्षार्थ खटिएका सैनिकले नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनको रोहबरमा आवश्यक कारबाही गरी उसै दिन छाडेका थिए तर पक्राउपछि सैनिकले कुटपिट गरेका र त्यसैकारण राजकुमारको मृत्यु भएको स्थानीय र परिवारले जिकिर गर्दै आएका छन् । पक्राउ परेर छुटेको साता दिनपछि राजकुमारको मृत्यु भएको थियो ।

राजकुमारको मृत्युपछि दोषीलाई कारबाही र पीडित परिवारलाई राहत माग गर्दै परिवार र स्थानीयले आन्दोलन गरेका थिए । दोषी भनिएका सैनिकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढे पनि पीडित परिवारले सहमतिअनुसारको राहत रकम पाउन सकेका थिएनन् । चितवन प्रशासनमा निकुञ्जका तत्कालीन प्रमुख, सेनाको गणका प्रमुख र पीडित पक्षबीच साउन १६ मा भएको वार्तामा राजकुमारको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको थियो । सहमतिपछि साउन १८ मा मात्रै राजकुमारको अन्त्येष्टि गरिएको थियो ।

सहमतिलगत्तै राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ राहत दिए पनि निकुञ्जले एक लाख रुपैयाँ मात्रै उपलब्ध गराएको थियो । निकुञ्जले सहमतिको साढे ४ महिनापछि मात्रै बाँकी रकम दिएको हो । निकुञ्ज कार्यालयबाट पछि सोधभर्ना हुने गरी लोथर मध्यवर्ती उपभोक्ता समितिको आन्तरिक स्रोतबाट राजकुमारको परिवारलाई बिहीबार ६ लाख रुपैयाँ उपलब्ध गराएको समिति अध्यक्ष मानबहादुर स्याङ्बोले बताए । मृतककी श्रीमती रेपिका प्रजा चेपाङका नाममा ६ लाख रुपैयाँ बराबरको चेक प्राप्त भएको चेपाङ अगुवा गोविन्दराम चेपाङले जानकारी दिए ।

के–के छन् अरू सहमति ?

प्रशासनमा भएको वार्तामा राजकुमारकी छोरीलाई विद्यालय जाने उमेर नहुँदासम्म भरणपोषण र विद्यालय जान थालेपछि १२ कक्षासम्म पढाउन चितवन निकुञ्जले सहयोग गर्नेसमेत सहमति भएको थियो । राजकुमारकी छोरीको उमेर अहिले अढाई वर्ष छ ।

त्यसैगरी, राजकुमारको परिवार बस्ने घर बनाउन निकुञ्जले सामग्री उपलब्ध गराउने र मध्यवर्ती समितिले सहजीकरण गर्ने सहमति भएको थियो । राजकुमारको परिवार पाँच धुर ऐलानी जग्गामा बनेको सानो घरमा बस्दै आएको थियो । घटनापछि राप्ती उपप्रमुख इमानसिंह लामाले राजकुमारको घर बनाइदिएका छन् । अन्य सहमति कार्यान्वयन नभएकाले त्यसका लागि आफूहरू निरन्तर लागि पर्ने चेपाङ अगुवा गोविन्दराम बताउँछन् ।

कहाँ पुग्यो कारबाही प्रक्रिया ?

छोराको मृत्युपछि राजकुमारका बाबु विष्णुलाल चेपाङले कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै चितवन प्रहरी कार्यालयमा साउन ९ मा उजुरी दिएका थिए । उनले भदौ २५ मा छोरालाई कुटपिट गर्ने व्यक्तिको नामै किटेर अर्को जाहेरी दिए । किटानी जाहेरीमा बटुक दल गणको अप्रेसनल अन्डर कमान्ड सिद्धिबक्स गणको प्यारीधाप गुल्मको लिगलिग पोस्टमा कार्यरत हुद्दा ४० वर्षीय चिरणकुमार बुढाले कुटपिट गरेको उल्लेख छ । राजकुमारको पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षण रिपोर्ट र रगत परीक्षण रिपोर्ट प्राप्त भएपछि मात्रै प्रहरीले आरोपित बुढालाई समाएको थियो ।

बर्दिया गेरुवा–५ घर भएका बुढा किटानी जाहेरी परेको १० दिनपछि (असोज ४ मा) पक्राउ परेका थिए । उनलाई जन्मकैद माग गरी चितवन जिल्ला अदालतमा मुद्दा दयार भएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले असोज २७ मा बुढालाई पुर्पक्षका लागि थुनामा राख्न भरतपुर कारागार पठाउने आदेश दिएका थिए । हाल यो मुद्दा पेसीमा चढेको छ र सुनुवाइ सुरु भएको छ ।

मुलुकी अपराध संहिताको परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरको दफा १७८ को उपदफा १ बमोजिम अपराध भएको हुँदा उपदफा २ बमोजिमको सजाय माग गरेर मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । कसैले कुनै काम गर्दा मानिसको ज्यान जान सक्छ भन्ने जानी–जानी त्यस्तो काम गर्न नहुने उपदफा १ मा उल्लेख छ, जसअनुसार अपराध भए कसुरदारलाई जन्मकैदको सजाय हुने व्यवस्था उपदफा २ मा छ ।

प्रकाशित : पुस ४, २०७७ ११:१०

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार