Saturday, April 20, 2024

सरकारले भूमिहीनलाई यसै वर्षदेखि लालपुर्जा वितरण गर्ने

पुस ३, २०७७

काठमाडौँ — सरकारले भूमिहीनहरुका लागि लालपुर्जा वितरण गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ ।

बिहीबार भूमिसम्बन्धी समस्या समाधान आयोग र कैलालीको गोदावरी नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रम

लालपुर्जा वितरण गर्न स्थानीय सरकारले चासो देखाएका कारण पनि यसै वर्षदेखि भूमिहीनहरुलाई लालपुर्जा वितरणको कार्य सुरु गर्न सकिने आयोगको दाबी छ ।

सुदूरपश्चिम प्रदेशका भूमिहीन नागरिकलाई लालपुर्जा वितरणको गृहकार्य सुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ वटा स्थानीय तहसँग सम्झौता गरी काम अघि बढाइसकेको छ । सरकारले एक सय वटा पालिकामा भूमि व्यवस्थासम्बन्धी काम गर्न निर्देशन दिएको भए पनि स्थानीय तहहरुको तत्परताका कारण १ सय ८७ पालिकासँग सम्झौता गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । बिहीबार आयोगका अध्यक्ष ज्ञवाली र सुदूरपश्चिमका १५ वटा स्थानीय तहबीच भूमिहीन सुकुमवासीलाई जग्गा वितरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसअघि दुइटा स्थानीय तहसँग सम्झौता भइसकेको थियो । सम्झौता पत्रमा हस्ताक्षर गरेपछि स्थानीय तहका प्रमुखहरुले भूमिसम्बन्धी समस्या समाधान गर्न आफूहरु तत्पर रहेको बताएका छन् ।

विगतमा स्थिर सरकार नभएका कारण भूमिहीनका समस्या समाधान गर्न नसकिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यसपटक भएको सम्झौताले भने आशा जगाएको बताए । यस्तै संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा कार्यान्वयनमा चुनौती देखिएको पनि उनले बताए ।

लामो समयसम्म भूमिहिनका समस्या समाधान हुन नसकेको अवस्थामा आयोग र स्थानीय तहबीच सम्झौता भएपछि भने भूमिहीनहरुले छिट्टै भूमि पाउने आशा गरिएको छ । आयोगका अध्यक्ष ज्ञवालीले सरकारको सक्रियता बढेको र आयोग पनि ऐन संसोधनबाट आएकाले यसै वर्षदेखि लालपुर्जा वितरणको काम सुरु हुने दाबी गरे ।

आयोगले सुदूरपश्चिमका करिब १ लाखको संख्यामा रहेका भूमिहीनलाई लालपुर्जा वितरण गर्ने अनुमान गरेको छ । यो सम्झौतापछि स्थानीय सरकारले लगत संकलनको काम सुरु गर्ने छन । भूमिहीनलाई जग्गा वितरण गर्न आयोगले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिका गरी ९ स्थानीय तहसँग सम्झौता गरेको छ ।

यस्तै कञ्चनपुरको कृष्णपपुर नगरपालिका, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका गरी ७ स्थानीय तह र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग पनि प्रारम्भिक सम्झौता गरेको छ ।

प्रकाशित : पुस ३, २०७७ १३:४७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार