Wednesday, April 24, 2024

मन्त्रिपरिषद् बैठक : अध्यादेश फिर्ता लिनेबारे भएन छलफल

पुस २, २०७७ संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा केही छलफल भएन ।

मन्त्रिपरिषद्को बैठक । तस्बिरः राजन काफ्ले/प्रधानमन्त्रीको निजी सचिवालय

एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद् बैठकमा केही जानकारी दिएनन् । यसअघि पनि मन्त्रिपरिषद् बैठकमा छलफल नै नगरी अध्यादेश जारी गरिएकोमा फिर्ताबारे पनि केही छलफल नभएको नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका ती मन्त्रीले बताए ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भने प्रधानमन्त्री स्थायी कमिटी बैठकमा नै अध्यादेश फिर्ता लिने भनिसकेकाले मन्त्रिपरिषद्मा छलफल नभएको बताए । ‘आजको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेकका विषयमा केही पनि छलफल र निर्णय भएन । अध्यादेशको बारेमा हिजो फिर्ता लिन्छु भनिसक्नुभयो त सकिइसक्यो नि,’ उनले भने ।

मन्त्री श्रेष्ठ नेकपाका केन्द्रीय सदस्य पनि हुन् ।

अर्का एक मन्त्रीका अनुसार मन्त्रिपरषद्मा छलफल नगरी निर्णयमा अध्यादेश फिर्ताको विषय पर्न सक्ने बताए । जारी गर्नका लागि पनि मन्त्रीहरूलाई जानकारी नदिइएकोमा खारेज गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्न पनि मन्त्रीहरूलाई जानकारी नदिई गर्न सकिने उनको भनाइ थियो । प्रधानमन्त्रीले मुख्यसचिवलाई मन्त्रिपरिषद्का निर्णयमा अध्यादेश खारेजीको निर्णय भएको माइन्यूट गराउने सम्भावना रहेको उनको भनाइ थियो ।

अध्यादेश फिर्ता गराउनका लागि कृषिमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतले भूमिका खेलेका थिए । तर भुसालले पनि मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ता गराउनेबारे केही कुरा नराखेको मन्त्रीहरूले बताएका छन् ।

प्रकाशित : पुस २, २०७७ २०:०७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार