Tuesday, July 27, 2021

उखु किसान भन्छन् : ऋणले बहुलाइसकेँ, समाजमा मुख देखाउनै गाह्रो भो !

‘नेता र उद्योगीबीचको साँठगाँठले किसान सधैँ मर्कामा परे’

पुस १, २०७७

काठमाडौँ — गौशालास्थित धर्मशालाको सानो कोठा । कोठाभित्रको एउटै खाटमा आराम गर्दै थिए दिनभरको आन्दोलनले लखतरान उखु किसान । त्यही समूहमा पातलो ब्ल्याङ्केट ओढेर ढल्केका थिए उनी । साथीहरुले आन्दोलनका कुरा गर्दा आफ्नो कान उनीहरुकै नजिक पुर्‍याएर सुन्ने प्रयास गर्थे । दाहिने कान नसुन्ने भएकाले होला उनीसँग बोल्दा साथीहरु अलि ठूलै स्वरमा बोल्थे । 

उखुको भुक्तानी माग्दै काठमाडौं आइपुगेका संघर्ष समितका अध्यक्ष रामस्वार्थ राय (दायाँबाट पहिलो) र गगनदेव राय (दायाँबाट दोस्रो) तस्बिर : अंगद ढकाल

अंगद ढकाल/कान्तिपुर

उनी अर्थात गगनदेव राय । घर रामनगर गाउँपालिका, सर्लाही । उखु किसान आन्दोलनका लागि काठमाडौं आएको तेस्रो दिन गौशालाको धर्मशालामा भेटिए उनी । ७० वर्षीय गगनदेव यसअघि कात्तिकमा उखु किसान संघर्ष समितिसँग काठमाडौं आएका थिए । त्यतिखेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समितिले किसानका समस्याहरु पोखे । अन्य किसानलाई झैं राष्ट्रपतिसँग भेटेपछि गगनदेवलाई पनि आफ्नो समस्या हल हुने आश थियो । देशकै ठूलो व्यक्तिसँग भेटेपछि त मिल मालिकले पैसा दिइहाल्लान् नि सोचेर घर फर्के उनी । तर वर्षभरि दु:ख गरेर उब्जाएको उखुको पैसा उनले पाएनन् ।

बाध्य भएर फेरि काठमाडौं फर्केका छन् गगनदेव । चार दिनदेखि माइतिघरमा आन्दोलनरत सबै किसानका झैं उनको पनि एउटै कुरा छ, ‘सरकारले झुटो आश्वासन दियो । पैसा फलानो दिन दिन्छु भनेर बारम्बार सम्झौता मात्रै गर्‍यो । उता घरको ऋण बढेको बढ्यै छ । यसपटक पैसा नलिई खाली हात घर फर्कन्‍नँ । चाहे भोकै मर्न किन नपरोस् ।’

७० वर्षीय किसान गगनदेव राय तस्बिर : अंगद ढकाल

गगनदेवले अन्नपूर्ण चिनी मिलसँग करिब चार लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ । ठूलो जहान पाल्न एक बिघा खेत बन्धकी राखेर १० लाख ऋण लिएका छन् उनले । ऋण लिएको १ वर्ष हुन लाग्यो । बैंकको ब्याजसमेत तिर्न सकेका छैनन् । ‘कसरी तिर्ने ब्याज ? मिलले पैसा दिएको भए दिन्थे । मिलले मारमा पार्‍यो हामीलाई,’ गगनदेवले आफ्नो समस्या पोखे, ‘नातानातिनीलाई कापी कलम माग्छन् कसरी दिउँ ।’

३ वर्षको अवधि राखेर ऋण लिएका थिए उनले । तर, समयमै ब्याजसमेत तिर्न नसकेका उनले मिल मालिकले पैसा नदिए साँवा तिर्ने उपाय नै नभएको बताउँछन् । जमिननै लिलाम हुने अवस्थामा पुगेको छ उनको । ‘जमिन लिलाम हुने भयो । बैंकले पैसा मागेको माग्यै छ,’ उनले सुनाए ।

६ महिनाअगाडि पत्नीको आँखाको शल्यक्रिया गर्नुपर्‍यो । खर्च ‍१२ हजार लाग्यो । तर पनि पत्नी देख्न सक्ने भइनन् । काठमाडौंको चिसोले आँखा रातो भएको देखाउँदै उनी आफ्नो बह पोख्छन्,’ चिसोले आँखा रातो भयो । उता घरमा पत्नीको हाल त्यस्तै छ । छोराछोरी कसैको जागिर छैन ।’

काठमाडौं आउन पनि महाजनसँग १० हजार ऋण लिएका छन् उनले । आठ दिनको करार सकिएपछि सयकडा ३ का हिसाबले ब्याज जोडिँदै जान्छ । रित्तै फर्के महाजनले बेइज्जत गर्ने डर । जबसम्म पैसा पाउँदैन तबसम्म यतै बस्ने उनको निर्णय छ । ‘फर्केपछि लिएको ऋण त मागिहाल्छ । कसरी दिने समस्या छ । जबसम्म पैसा पाउँदैन यतै बस्छु । यता म भोकै मर्छु उता मेरो परिवार मर्छ । सरकार खुसी होला नि तब त,’ उनी सुनाउँछन्,’मिल मालिकले मार्ने भयो । सरकारले मार्ने भयो । जाउँ त कहाँ जाउँ ?’

घरको उस्तै समस्या । गहिरो स्थानमा परेकाले बर्खामा सँधै घरभित्रसम्म पानी छिर्छ । राम्रो जमिन बैंकमा परेको छ । चार कठ्ठामा गहुँ बाली लगाउँछन् । त्यही जमिन पनि नदि किनारमा छ । बाढी आयो भने गहुँबाली ध्वस्त हुन्छ । सरकारले रोकिएको मिलको पैसा भुक्तानी गरिदिए आफूलाई राहत मिल्ने बताउँछन् उनी ।

एक सरो लुगामै काठमाडौं आएका हुन् गगनदेव । सेतो कुर्ता, त्यसमाथि क्रिम रङ्गको पातलो स्वेटर अनि एकसरो धोती लगाएरै मंसिरको यो जाडोका चार रात कटाइसके उनले। ‘यही लुगा लगाएर मजबुरीमै काठमाडौं आएको छु । तर पनि सरकार सुन्दैन । सरकारले नसुनेजस्तो गर्छ,’ आँखा रसिलो पार्दै उनले भने ।

पैसा नपाए कुनै सर्तमा घर नफर्कने उनी अडान लिन्छन् । ‘शक्ति प्रयोग गरेर मिल मालिकले मारिदेला । मर्न तयार छु । पैसा नलिइ त घर फर्किन । १० दिन बस्न परोस् कि १ महिना, या त यो ठण्डामा कठयाङ्ग्रिएर मर्छु,’ उनी भन्छन् ।

सरकारलाई के भन्नुहुन्छ ? उनको जवाफ छ,’मलाई मेरो पैसा चाहियो सरकार । मेरो समस्या हल गरिदिनु पर्‍यो । पैसा नै लिन यहाँसम्म आएँ । पैसा पायो भने समस्या हल हुन्छ । बालबच्चालाई खुवाउन सकिन्छ । खाली हात फर्कन चाहन्नँ ।’ सरकारले त हामी किसानकै सरकार हौँ भन्छ भन्न नपाउँदै उनले जवाफ फर्काए, ‘यस्तो सरकार त पूरा विश्वमै छैन होला । यदि किसानको सरकार हुन्थ्यो भने खुन पसिना बगाएर उब्जाएको उखुको पैसा माग्न काठमाडौंसम्म आउनुपर्थ्यो र ?’

दिनभर माइतीघरको चिसो सडकमा बसेका गगनको शरीर दुख्न थालेको छ । परिवारको चिन्ता, ऋणको तनाव अनि भुक्तानी रकम नपाउँदाको समस्याले आफू बहुलाउन मात्र बाँकी रहेको बताउँछन् गगन । ‘घरमा परिवार बिरामीले मर्न लागिसक्यो । म आफैँ यता मर्न लागिसकें । पैसा नपाउँदा म त बहुलाई नै सकेँ । समाजमा महामुर्ख कहलिने अवस्था आएको छ । पैसा पाइनँ भने म घर फर्किन्नँ,’ उनले भने,’सरकारले हामी सबै किसानको पैसा भुक्तानी गरिदिनु पर्‍यो । नत्र आत्महत्या गरिदिन्छु । पैसा नलिई फर्के कुन मुख लिएर समाजमा हिँड्नु ।’

‘कृपया ! हामीलाई बिचौलिया नभनिदिनूस्’

आन्दोलनको चौथो दिन, माइतीघरमा किसानको संख्या थपिएको देखिन्छ । साथमा थपिएका छन्, समर्थकहरु । पृष्ठभूमिमा बजिरहेको छ,’किसान हो सुन सरी अन्न फलाउने, धरतीलाई हराभरा स्वर्ग बनाउने ।’ सडकमा विभिन्न ब्यानर बोकेर किसान आन्दोलित छन् । चौथौ दिन पनि भीड र मिडियालाई किसानहरुले आफ्नो समस्या पोखे । बह पोखे, आँसु पोखे ।

अझ त्यसमाथि सरकारमै बसेका मान्छेले आफूहरुलाई बिचौलिया भनिदिँदा किसान निराश छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगीहरुले भनेको भरमा आफूहरुलाई बिचौलिया भनेकोमा किसानले आपत्ति जनाएका छन् । मंगलबार वार्ताका लागि औपचारिक पत्र बोकेर आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीलाई किसानहरुले अनुरोध नै गरे, ‘कृपया ! हामीलाई उद्योगीहरुले भनेकै भरमा बिचौलिया नभनिदिनुहोला । हामीले आफ्नो पसिनाको पैसा मागेका हौँ ।’

किसानले आफूहरुले अरुको कमाइ खाने बानी आफूहरुको नभएकाले आन्दोलनका बारेमा अनर्गल प्रचार नगर्न पनि सरकारमा बसेकाहरुलाई चेतावनी दिएका छन् । मंगलबारको प्रदर्शनमा ‘अप्पन कमाई मंगै छि, दोसर के कमाई खाइके आदत नै छै’ लेखिएका ब्यानर पनि प्रदर्शन पनि भएको थियो ।

भुक्तानी गर्नुपर्ने रकमको बिल बोकेरै आन्दोलित थिए राजमंगल यादव । उनको घर सर्लाहीको रामनगर । अन्नपुर्ण मिलबाट उनले ७ लाख पाउनुपर्ने छ । चार वर्षदेखि चिनी मिलले बक्यौता रकम भुक्तानी नगरेको उनी सुनाउँछन् ।

उखु मिलबाट लिन बाँकी रहेको पैसाको रसिद देखाउँदै राजमंगल यादव तस्बिर : अंगद ढकाल

अन्नपूर्ण मिलले पैसा दिइसकेको विज्ञप्ति निकालेको छ नि भन्ने प्रश्न राख्न नपाउँदै उनी खल्ती छामछुम गर्न थाले । ‘हेर्नुस् यहाँ एउटा बिल नै पचास हजारको छ,’ बिलहरु पल्टाउँदै भने,’अझै हेर्नुस् ५९,४९, ५०, ६० हजारको बिलहरु । हामी फोकटमा यस्तो जाडोमा यहाँ आएको होइनौं ।’

३८ वर्षीय राजमंगल थप्छन्,’चिनी मालिकले कारखानामै पैसा दिनुपर्ने थियो । पहिला त खातामा हालिदिन्थे । चार वर्ष यता ठप्प भयो । पोहोर सालको आन्दोलनमा डेढ महिनाको समय माग्यो । तर अहिलेसम्म खोइ पैसा हालेको ?’

पाउनुपर्ने बक्यौता रकम नपाउँदा सोचेको कुरा पूरा गर्न पाएनन् उनले । ‘बच्चाहरुलाई राम्रो बोर्डिङमा नपढाएर सरकारी स्कुलमा पढाउनु परिरहेको छ । राम्रो लगाउन नपाएर सस्तो कपडा लगाउनु परेको छ,’ उनले भने,’उखुको पैसा ऋणमा लगाएको भए १५/२० लाख भइसक्थ्यो ।’ बक्यौता रकम रोकिएपछि घर चलाउन उनले १० लाख रकम ऋणमा लिए । त्यही रकमले बहिनीको बिहे गरिदिए ।

पाँच हजार सापटी लिएर उनी काठमाडौं आएका हुन् । अहिले उनी दिनभर आन्दोलन गरेपछि साथीको कबाडमा रात बिताउँछन् । गगनदेव झैं उनी पनि पैसा नपाएसम्म घर नफर्कने बताउँछन् । ‘उखुमा धेरै मिहेनत लाग्छ । दबाई राख्नुपर्छ बेला बेलामा । पानी दिइरहनुपर्छ,’ उनले भने,’सरकारलाई बिन्ती छ हामीहरुको मेहनतको रकम दिलाइदेउ ।’

अर्का किसान रामबाबु मण्डल ६ सन्तानका बाबु हुन् । उनले पनि अन्नपूर्ण मिलबाट चार लाख पचास हजार रकम पाउन बाँकी रहेछ । समयमै रकम नपाउँदा घर चलाउन ऋण लिएका छन् उनले । ऋण दिएको महिला समूहमा हरेक महिना उनले पैसा बुझाउनुपर्छ । समयमा पैसा नदिँदा महिला समूह घरसम्मै आउँछन् । चिनी मिलको पैसा पाए त्यही ऋणको भार भए पनि कम हुने थियो भन्ने उनलाई लाग्छ । उनी त्यही सोचेर विगत चारदिनदेखि सडकमा आन्दोलित छन् । सर्लाही सिसौटियाका रामबाबु अहिले गौशालाको धर्मशालामै रात बिताउँदै छन् ।

आन्दोलन कति लम्बिएला उनलाई थाहा छैन । उनलाई एउटै कुराले सताउँछ,’छोरीको सादीको समय भयो । पैसा छैन । के गर्ने होला ।’

‘किसान नेताका दास त होइनन् नि’

सरकारले उखुलाई नगदेबालीका रुपमा सूचीकृत गरेको छ । तर किसानले भने उखु बेचेर नगद त पाएका छैनन्, त्यसमाथि घरखेत बन्धकी राखेर उखु खेती गर्दा लागेको ऋण तिरिरहेका छन् ।

आफ्नै पैसा माग्दा पनि सरकार र उद्योगीले आफूहरुलाई नसुनेको उनीहरुको गुनासो छ । गत वर्ष पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा चिनी मिल र किसानहरूबीच सम्झौता भएको थियो । उक्त सम्झौताको भाखा नाघेपछि गत चैतमा नै उखु किसानहरू अनशन बस्ने र उधारो सम्झौता कार्यान्वयन गराउने भन्दै काठमाडौं आएका थिए। त्यतिबेला कोरोना संक्रमणका कारण देशव्यापी लकडाउन हुने भएपछि उनीहरू आन्दोलनका कार्यक्रम स्थगित गरेर गाउँ फर्किए ।

उखु किसान संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् ।

माइतीघरमा मंगलबार धर्नामा रहेका उखु किसान तस्बिर : अंगद ढकाल

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय पैसा उठाउनका लागि तीन–तीन पटक काठमाडौं आइसकेका छन् । राष्ट्रपतिलाई भेटेरसमेत अनुरोध गर्दा पनि पैसा नपाउनु अत्यन्त दु:खद भएको अध्यक्ष राय बताउँछन् । ‘मुलुककै राष्ट्रपतिलाई भेटेर अनुरोध गर्दासमेत समस्या समाधान भएन, यो त निकै लाजमर्दो कुरा भयो,’ उनी भन्छन् । २०७० सालदेखि आफूहरुले पटक-पटक भुक्तानीको समस्या भोग्दै आए पनि सरकारले समाधानका लागि कुनै पहल नगरेको उनी गुनासो गर्छन् ।

नेताको घरआँगनसम्म पहुँच बनाउन सक्ने केहीले भने पैसा पाइरहेको उनी बताउँछन् । ‘नेताहरुको नजिकका र सोर्सफोर्स लगाउन सक्ने मान्छेलाई उद्योगीले पैसा दिइरहेका छन्,’ उनले भने, ‘हामीले न सरकारबाट साथ पाएका छौं, न त उद्योगीबाट ।’

पटक-पटक आफ्नै पैसा लिन आउनुको दु:ख त छ नै किसानलाई त्यसमाथि सरकारले गर्ने व्यवहारले उनीहरुलाई झन् दु:खी बनाएको अध्यक्ष रायको गुनासो छ । ‘आफ्नै पैसा लिन हामी यहाँसम्म धाउनु त नपर्ने हो नि ! हामी दास त होइन नि ! हामी कमाउने अनि उहाँहरु खाने । हामीले परिश्रमको पैसा मागेका हौं । हामीले ऋण लिएर उखु खेती गरेका छौं । त्यसको ब्याज पनि पाउनुपर्छ,’ अध्यक्ष रायले आक्रोशित हुँदै भने ।

माइतीघरमा धर्नाका क्रममा संघर्ष समितका अध्यक्ष रामस्वार्थ राय(बाँयाबाट पहिलो) लगायतका किसानहरु तस्बिर अंगद ढकाल

उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालीन समाधान गर्न पनि सरकारसँग किसानको आग्रह छ । आफूहरुको मुख्यबाली उखु भएकाले पनि यसको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालीन समाधान हुनुपर्ने उनको भनाइ छ । ‘बाजेहरुको पालादेखि नै उखु खेती गरिएको हो । त्यतिबेला चिनी मिल नहुँदा पनि हामीले गोरुले कोल चलाएर पेल्थ्यौं । हामीले सख्खर बनाएर बेच्थ्यौं,’ अहिले मिल आएर दुई चार पैसा हात पर्ला भनेको त उल्टो घरखेत बन्धकीमा राख्नुपरेको छ,’ उनले भने ।

‘यदि उद्योगीले किसानलाई पैसा तिर्न नसक्ने र सरकारले पनि उद्योगीसँग पैसा तिराउन नसक्ने हो भने सरकारले हामीले सहुलियतमा ऋण दिओस् एक दुई प्रतिशत ब्याजमा ऋण देओस् सरकारले हामी किसान मिलेर चिनी मिल खडा गरी आफै चिनी उत्पादन गरेर सरकारलाई दिन सक्छौं । आखिर भारतबाट चिनी आयात गरिएकै छ । तर सरकारमा बस्नेहरुले कमिसन नपाउने भएकाले किसानलाई मिल चलाउन दिने छैनन्,’ बर्सेनि उद्योगीले पैसा दिएनन् भन्दै काठमाडौं आउनुभन्दा त्यही उत्तम हुने उल्लेख गर्दै अध्यक्ष रायले भने ।

‘उद्योगपति र नेताहरुको साँठगाँठ छ’

सरकारमा बस्नेहरुको उद्योगीहरुबीचको साँठगाँठका कारण किसान सधैँ मर्कामा परेको किसानहरुको गुनासो छ । केही उखु उद्योगी आफै राजनीति गर्ने केहीले राजनीतिक पहुँच बनाएकाले किसानलाई नटेर्ने समस्या दोहोरिरहेको उनीहरुको बुझाइ छ । प्रदेश ५ मा कांग्रेस सांसद रहेका वीरेन्द्र कनौडियाले पनि किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ । यदि कांग्रेस नेतृत्वबाटै कनौडियालाई दबाब दिइएको भए उनले भुक्तानी गर्ने किसान बताउँछन् । यदि भुक्तानी गर्न आनाकानी गरे उनलाई पार्टीले कारबाही गर्नुपर्ने पनि संघर्ष समितिका अध्यक्ष रायको मत छ । उनी भन्छन्, ‘जबसम्म पैसा पाउँदैनौँ र नेताहरुलाई कारबाही हुँदैन तबसम्म हामी फर्कँदैनौं ।’

भोट माग्ने बेला दैलो दैलोमा हात जोड्दै आउने नेताहरुले किसानका समस्यालाई प्राथमिकता नदिएको उल्लेख गर्दै राय भन्छन्, ‘ भोट माग्नचाहिँ दैलैमा नमस्कार गर्दै आउने, त्यसपछि बिर्सने । त्यतिबेला खुट्टा समात्ने, जितेपछि के उनीहरु भगवान भइहाल्छन् । अन्नदातालाई नै बिर्सने । यस्तो त लाजमर्दो कुरा हो ।’

मंगलबार प्रदर्शनका क्रममा भावुक हुँदै मिल मालिकबाट पैसा नपाएका किसान तस्बिर : केशव थापा

प्रधानमन्त्रीले भाषणमा ‘कोही भोकै मर्दैन’ भनेझैं किसानलाई हेरेको भए अहिलेको दु:ख भोग्ने अवस्था नआउने उनले बताए । यदि सरकारले बेलैमा आफूहरुको मागलाई सम्बोधन नगरे देशव्यापी रुपमा किसान आन्दोलन चर्काउने उनले चेतावनी दिएका छन् । ‘त्यस्तो अवस्था नआओस्, सरकारले बेलैमा हाम्रो माग पूरा गरोस्, हामीलाई खेतीकिसानी गर्नमै आनन्द छ, आन्दोलन हाम्रो बाध्यता हो,’ उनले भने ।

आफूहरुलाई केही मानिसले बदनाम गराउन खोजेको उल्लेख गर्दै अध्यक्ष राय भन्छन्, ‘किसानको पैसा नदिने मान्छेलाई कठघरामा उभ्याएर हामीहरुलाई न्याय दिलाए हामीले ‘स्याबास ! सरकार’ भन्ने थियौं । हामी कुनै पार्टीका होइनौँ, हामी सबै पार्टीका किसान हौं, त्यसैले जो सरकारमा भए पनि हाम्रा समस्या हल गरिदिनुपर्छ । त्यसैले सबै पार्टीले ठग व्यापारीलाई पार्टीमा टिकट दिनुहुन्न । अनि मात्रै किसानको समस्या हल हुन्छ ।’

प्रकाशित : पुस १, २०७७ १४:२०

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

ताजा समाचार