Friday, March 29, 2024

नाफामा जान निगमले माग्यो ६ जहाज

मंसिर ३०, २०७७ संवाददाता

काठमाडौँ — नेपाल वायु सेवा निगमले ६ वटा जहाज थपेर अबको १० वर्षपछि वार्षिक ५ अर्ब नाफा कमाउने योजना तयार पारेको छ । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको निगमको ‘सन् २०२१ देखि २०३० सम्म’ को एकीकृत व्यावसायिक योजनामा यस्तो उल्लेख गरिएको हो ।

बर्सेनि घाटामा गइरहेको निगमले २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, सांघाई, इन्डोनेसिया र रियादलगायत ८ नयाँ गन्तव्य थप्नुपर्ने जनाएको छ । ती गन्तव्यमा सेवा दिन न्यारोबडी चार र वाइडबडी दुई गरी ६ वटा जहाज आवश्यक पर्ने व्यावसायिक योजनामा उल्लेख छ ।

योजनामा निगम सुरुका तीन वर्ष नोक्सानमै रहने भए तापनि सन् २०२४ बाट नाफामा जाने र २०३० मा ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा हुने प्रक्षेपण गरिएको छ । मन्त्रालयका अनुसार उक्त कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने अनुमान छ । हाल निगमको ऋण ४१ अर्ब रुपैयाँ पुगिसकेको छ ।

आन्तरिक उडानतर्फ सुधारका लागि काठमाडौं, नेपालगन्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारको १५ औं पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो व्यावसायिक योजना तयार पारिएको हो । निगमले यसअघि बनाएका कुनै पनि व्यावसायिक योजना सफल भएका छैनन् ।

योजनामा निगमको वित्तीय अवस्था, बजार विश्लेषण, कोभिड–१९ ले पारेको असर, सरकारबाट गरिएको अपेक्षालगायत विषयवस्तुलाई उल्लेख गरिएको छ । प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन निगमको नेतृत्वलाई निर्देशन दिए ।

त्यस्ता काम भए सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका थिए । निगमसँग हाल अन्तर्राष्ट्रिय उडानतर्फ दुइटा न्यारोबडी र दुइटा वाइडबडी विमान छन् । आन्तरिकतर्फ दुइटा टुइनअटर विमान छन् । निगमले आन्तरिकतर्फ ६ वर्षयता उडाउँदै आइरहेका ५ वटा चिनियाँ जहाज साउन १५ देखि नउडाउने निर्णय गर्दै ग्राउन्डेड गरिसकेको छ ।

प्रकाशित : मंसिर ३०, २०७७ ०९:४७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार