Thursday, April 25, 2024

संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति जान हुँदैन : नेता थापा

मंसिर ३०, २०७७ अर्जुन शाह

धनगढी — कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संवैधानिक परिषद्को बैठकमा पार्टी सभापति शेरबहादुर देउवा जानै नहुने बताएका छन् । संविधानले व्यवस्था गरेअनुरूप प्रतिनिधिसभामा कांग्रेसले उपसभामुख पाउनुपर्ने भए पनि त्यसतर्फ कुनै निर्णय नभएकाले कांग्रेस परिषद्को बैठकमा जानुको अर्थ नहुने उनको भनाइ छ ।

प्रेस युनियन कैलालीले मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले प्रतिपक्षी दलले अहिलेको अवस्थामा सरकारमा जाने लालच राख्न नहुने पनि बताए । नेता थापाले ‘राजा आऊ देश बचाऊ’ भन्दै युवा सडकमा आउनुमा सबै राजनीतिक दलहरू जिम्मेवार रहेको धारणा राखे । ‘मुख्य कारण अहिलेका राष्ट्रपतिको कार्यशैली हो,’ उनले भने, ‘युवाहरूमा चरम निराशा पैदा भएर अहिलेका राष्ट्रपतिभन्दा त उहिलेका एक थान संवैधानिक राजा नै ठिक थिए भन्ने भावना जागेको हो ।’ तर उनले अहिलेको अवस्थामा राजा फर्किने कल्पना कसैले गर्नु व्यर्थ हुने जिकिर गरे ।

अहिलेको सरकारले हठात् संसद् बन्द गरिदिएकाले नेपाली कांग्रेस सडकमा आउन बाध्य हुनुपरेको थापाले दाबी गरे । ‘शक्तिको चरम दुरुपयोग गरिरहेको अहिलेको सरकार ठेगान नलागेसम्म कांग्रेसले सडक र संसद् दुवैबाट एकसाथ विरोध जारी राख्छ,’ उनले भने ।

कोराना संक्रमणका बिरामीभन्दा पनि कोरोनाबाहेकका बिरामीको उपचार व्यवस्थामा अहिलेको सरकारले बेवास्ता गरेको भन्दै थापाले सरकारको आलोचना गरे । ‘अहिलेको सरकारलाई जनताका सवालको कुनै वास्तै छैन,’ उनले भने । विगतका गुट–उपगुट हराउँदै गएको जनाउँदै थापाले पार्टीभित्र आगामी महाधिवेशनमा नयाँ संरचना निर्माण भएर नेतृत्व चयन हुने बताए ।

प्रकाशित : मंसिर ३०, २०७७ ०९:४१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार