Saturday, April 20, 2024

‘अधिनायकवादी चरित्रले प्रदर्शन गर्न बाध्य’

कांग्रेसद्वारा देशव्यापी प्रदर्शन र विरोधसभा, सरकारको कार्यशैलीको चर्को आलोचना

मंसिर ३०, २०७७ प्रदेश ब्युरो

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गर्न थालेपछि विरोधमा उत्रन बाध्य भएको बताएका छन् । कांग्रेसले सोमबार विराटनगरमा गरेको प्रदर्शनमा नेकपाको सरकारले तीन वर्षमा पनि मुलुकमा स्थिरता र सुशासन ल्याउन तथा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गरे ।

उनले आउँदो निर्वाचनमा कांग्रेसलाई नम्बर एक पार्टी बनाउने गरी नेता तथा कार्यकर्तालाई काम गर्न निर्देशनसमेत दिए । कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हेटौंडाको विरोधसभालाई सम्बोधन गर्दै कम्युनिस्ट सरकारलाई सच्याउनका लागि आफूहरू सडकमा आएको दाबी गरे । सरकारलाई सच्याउन र यो द्वन्द्व गर्ने बेला होइन भन्नलाई सडकमा आएको उनको भनाइ थियो । जनता भोकले मर्दै गर्दा बालुवाटारमा सत्ताका लागि लडाइँ भइरहेको प्रवक्ता शर्माले बताए । ‘भोकले कोही मर्दैन भन्ने सरकार जनता कोरोनाको मारमा रहेको बेला सत्ताको जित र हारमा लागेको छ,’ उनले भने । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारबाट सरकारले सर्वसत्तावाद लागू गरेको प्रस्ट भएको शर्माको टिप्पणी थियो ।

झापाको बिर्तामोडमा आयोजित विरोधसभामा कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार र नेकपाका कारण मुलुकको व्यवस्था नै संकटमा परेको आरोप लगाए । उनले सरकार सही ढंगले चल्न नसक्दा मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गरे । सरकार कमजोर बनेकै कारण देशीविदेशी शक्ति पुनः सक्रिय बनेको उनको दाबी थियो ।

‘पार्टीभित्रको पद र सत्ता जोगाउन कम्युनिस्ट नेताहरू विदेशी शक्तिको शरणमा पर्दा मुलुकको सार्वभौमसत्ता कमजोर बन्न पुगेको छ,’ उनले भने, ‘सरकारको नालायकी थाहा पाएपछि एउटा शक्तिले देशभित्रै हिन्दु राष्ट्रका नाममा धार्मिक हिंसा भड्काउन खोजिरहेको छ ।’ नेता महतले मुलुकमा कांग्रेसको अगुवाइ र समर्थनबिना कुनै पनि परिवर्तन सम्भव नभएकाले संकटमा पर्दै गएको वर्तमान व्यवस्थालाई कायम राख्न कांग्रेस सडकमा उत्रिनुपरेको बताए । सरकारले भ्रष्टाचारबाहेक कुनै काम गर्न नसकेको उनको टिप्पणी थियो । त्यही सभामा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेकपा सरकारको चरित्रका कारण सुतेको बाघ (कांग्रेस) जागेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले धनगढीमा आयोजित विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘महारानी’ बन्न खोजेको आरोप लगाएका छन् । उनले हिम्मत भए आफ्नो निर्वाचन क्षेत्रमा आएर चुनाव लड्न पनि राष्ट्रपतिलाई चेतावनी दिए । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाइ थियो । नेता थापाले ओली नेतृत्वको सरकारले मनोमानी गरिरहेको टिप्पणी गरे । ‘बरालिएको केपी ओली सरकार जबसम्म ठेगानमा आउँदैन, तबसम्म कांग्रेस सडकमै रहन्छ,’ उनले भने ।

नेता थापाले ‘राजा आऊ देश बचाऊ’ भनेर सडकमा आएका युवालाई सम्हालिन आग्रह गरे । संघीयताको विकल्प नरहेको उल्लेख गर्दै उनले यही व्यवस्थालाई सुदृढ र परिपक्व बनाउनुपर्ने बताए । ‘हिजो पञ्चायतकालमा मन्दिरको मूर्ति चोरेर र बेचेर खानेहरूले तपार्इं हाम्रो धर्म बचाइदेला भन्ने अपेक्षा राख्नु अर्को धोका हुनेछ,’ उनले भने । सुदूरपश्चिम प्रदेश सरकारको लाचारी र नकारात्मक काम देखेर संघीयता वा अहिलेको व्यवस्था नै चाहिँदैन भन्ने धारणा बनाउनु गलत हुने उनको भनाइ थियो । ‘मुख्यमन्त्रीजी क्षमा गर्नुहोला, तपार्इंजस्तो निरीह र लाचार मुख्यमन्त्रीका कारण सुदूरपश्चिमका जनताले दुःख पाए । सुदूरपश्चिममा लेखराज भट्ट र भीम रावलको पहलमा सेनिटाइजर बाँडियो भनेर समाचार आउँछ । प्रदेश सरकारले के गर्‍यो ?’ उनले भने, ‘यस प्रदेशका मुख्यमन्त्रीले संघीयताको भारी बोक्न नसकेको दोष व्यवस्थालाई दिनुहुन्न । भारी त प्रधानमन्त्री र नेकपालाई बोकाउनुपर्छ ।’

कांग्रेस नेता रामशरण महतले चितवनको नारायणगढमा आयोजित प्रदर्शनमा सरकार एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा रहे पनि सत्तारूढ दलभित्रैको विवादले प्रक्रिया अगाडि नबढेको बताए । ‘अमेरिकाको सहयोग लिँदा चीन रिसाउँछ भनेर नेकपाका केही नेता विलापमा लागेका छन्,’ उनले भने । चीनसँगको सीमा विवादमा छानबिनबिनै सरकारले भूमि अतिक्रमण नभएको बताउनु गलत भएको नेता महतको भनाइ थियो ।

पोखरामा कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सरकार यो कार्यकालमा अकुत सम्पत्ति जम्मा गरेर अर्को निर्वाचन कब्जा गर्ने रणनीति नेकपाले लिएको आरोप लगाए । उनले प्रधानमन्त्री ओली नै भ्रष्टाचारको केन्द्रविन्दुमा रहेको बताए । ‘उहाँ (प्रधानमन्त्री) भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा पटकपटक दोहोर्‍याउनुहुन्छ,’ पृथ्वीचोकमा आयोजित सभामा उनले भने, ‘साँच्चै भ्रष्टाचारविरोधी भए पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष र पारदर्शी न्यायिक आयोग गठन गरेर तमाम भ्रष्टाचार काण्ड छानबिन गर्ने तागत राखुन्, अनि पत्याउँला ।’ उनले ओली नेतृत्वको सरकार एकदलीय निरंकुशतातिर गएकाले त्यसका विरुद्ध संघर्षको थालनी भएको बताए । कांग्रेसको प्रदर्शन कम्युनिस्ट अधिनायकवादविरुद्ध संघर्षको ‘वार्मअप’ मात्रै भएको उनको भनाइ थियो । ‘लोकतन्त्रका आधारभूत मान्यताविरुद्ध चुनौती खडा भएको छ,’ उनले भने, ‘राणा, पञ्च र राजापछि अब चौथोपल्ट कम्युनिस्ट अधिनायकवादविरुद्ध संघर्ष गर्ने दायित्व कांग्रेसको काँधमा थपिएको छ ।’ सभालाई पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्रीहरू महादेव गुरुङ, यज्ञबहादुर थापालगायतले सम्बोधन गरेका थिए । केन्द्रीय सदस्य केसीले बागलुङमा आयोजित सभालाई पनि सम्बोधन गरे ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेलगायतले मुलुकमा भ्रष्टाचार तथा बलात्कारका घटना बढेको र कोरोना नियन्त्रणमा सरकारले बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको बताएका थिए । सिन्धुपाल्चोकको विरोधसभामा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायतले पनि सरकारको कार्यशैलीको विरोध गरेका थिए । केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले गोरखाको सभामा दुई तिहाइको दम्भमा सरकारले न्यायपालिका र संवैधानिक अंगलाई तर्साएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीले चाहेकालाई जोगाउने र विपक्षमा रहेकालाई तर्साउने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री हरेक अधिकार आफ्नो हातमा लिन चाहनुहुन्छ । यो प्रदर्शन सरकारको रवैयाविरुद्ध हो ।’ कार्यक्रमलाई केन्द्रीय सदस्य टीएन योगी र जिल्ला सभापति हरिबहादुर घलेले पनि सम्बोधन गरेका थिए ।

महेन्द्रनगरको सभामा केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिले देखिएका विकृतिको कारण प्रधानमन्त्रीको अहंकार रहेको बताए । सरकारको अक्षमताका कारण व्यवस्थामाथि नै प्रहार हुन थालेको उनको भनाइ थियो । जनता रोग र भोकले मरिरहेका बेला सरकारले त्यसतर्फ बेवास्ता गरेको आरोप उनले लगाए । विदेशबाट नेपालीलाई घर फर्काउनसमेत सरकारले दलाली गरेको उनको भनाइ थियो । अहिले सत्तारूढ दलमा देखिएको विवाद पनि मुलुक बनाउन वा कोभिड नियन्त्रणका लागि नभई दलाली गर्न भइरहेको उनले बताए । ‘निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण गरेको छ,’ उनले भने, ‘ओली नेतृत्वको सरकार रहँदासम्म नेपाली चेलीहरू सुरक्षित हुँदैनन् ।’

रूपन्देहीको भैरहवामा भएको विरोध प्रदर्शनमा केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरत शाहलगायतले सम्बोधन गरेका थिए । उनीहरूले सरकारको कामकारबाही र सर्वसत्तावादविरुद्ध प्रदर्शन गर्नुपरेको बताए । सभामा भाग लिन जिल्लाभरिबाट नेताकार्यकर्ता साइकल, मोटरसाइकल, बस, जिप, भ्यान र ट्र्याक्टरमा कोचिएर आएका थिए । नेपालगन्जमा पनि सयौं कार्यकर्ता, नेता र जनप्रतिनिधिको सहभागितामा प्रदर्शन भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेलमाथि प्रशासनले गरेको अभद्र व्यवहार र सरकारको भ्रष्टाचार गतिविधिविरुद्ध प्रदर्शनकारीले आवाज उठाएका थिए ।

पाल्पाको तानसेनमा आयोजित विरोधसभामा पूर्वकेन्द्रीय सदस्य राजन पन्त, जिल्ला सभापति वीरबहादुर राना, महिला संघकी गंगा पौडेललगायतले सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । बर्दियाको गुलरियामा भएको प्रदर्शनमा केन्द्रीय सदस्य गोपाल दहितले मुलुकमा चरम भ्रष्टाचार भएको बताए । पश्चिम नवलपरासीको प्रदर्शनमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले ओली सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको र भ्रष्टाचारीको संरक्षणमा लागेको टिप्पणी गरे । पूर्व रुकुमको अस्थायी सदरमुकाम रुकुमकोटमा तरुण विभागका सदस्य नन्दबहादुर विष्टलगायतले संघ, प्रदेश र स्थानीय तह भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

कोरोना संक्रमणको त्रासका बेला कांग्रेसले विभिन्न ठाउँमा गरेको प्रदर्शनमा सहभागी अधिकांशले मास्क लगाए पनि व्यक्तिगत दूरी पालना गरेको भने देखिएन ।

प्रकाशित : मंसिर ३०, २०७७ ०७:२८

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार