Thursday, March 28, 2024

देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर : मन्त्री त्रिपाठी

मंसिर २९, २०७७ संवाददाता

काठमाडौँ — संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताएका हुन् । स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहिन बनाउने भन्ने निर्भर रहेको पनि मन्त्री त्रिपाठीले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुस्कारमा प्राप्त नभएकाले कसैलेपनि समाप्त पार्न नसक्ने दाबी समेत उनको छ । कोभिडको समयमा स्थानीय तहले गरेको कामकारबाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै, संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको पनि बताए । संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको भएर नै स्थानीयत तहले असाधारण काम गर्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका सिंगो देशबासीको भएको बताए । त्यसैले काठमाडौंको विकासमा सबैको चासो रहेको मेयर शाक्यले बताए । काठमाडौंमा स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलो मुक्त र हिलो मुक्त बनाउन सबैको साथ आवश्यक रहेको पनि मेयर शाक्यले बताए ।

महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोमबारकै दिन महानगर दिवस मनाउँदै आएको छ । महानगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।

प्रकाशित : मंसिर २९, २०७७ १५:३१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार